Friday, March 27, 2009

एकजना चर्चित नायिका आफूभन्दा दोब्बर उमेरका निर्माताकी कान्छी श्रीमती


मेरा एकजना मित्र मलाई भेट्नासाथ सिनेमाको कुरा गर्न थाल्छन् र अनि रोमान्टिक भाव-भंगीमाका साथ भन्छन्, 'फलानी हिरोइनलाई पाए त म आजै कान्छीस्वास्नी बनाउँथे ।' त्यस्तै, मेरा अर्का एकजना लेखक मित्र पनि वेला-वेलामा लगभग त्यस्तै भावमा भन्छन्, 'मेरो त...सित वानसाइटेड लभ नै परिसक्यो । राति-राति सपनामा उसैसँग डेटिङमा जान्छु । तपाईंले उनलाई भेट्नुभयो भने म उनको फ्यान हुँ भनेर भनिदिनूस् है !'

मैले वेला-बखतमा यस्ता स्थिति भोगिरहनुपरेको छ । मेरा धेरै यस्ता मित्र छन्, जो नेपाली हिरोइनका बारेमा चाहिनेभन्दा बढी जानकारी राख्छन् । उनीहरूलाई बिपना थापाको बिहे कोसित भयो भन्ने थाहा छ । उनलाई हालसालै कुनचाहिँ हिरोइनले आफ्नो श्रीमान्सित छोडपत्र गरी भन्ने पनि थाहा छ । उनलाई कसको कोसित चक्कर चलिरहेछ र कोसित कसको के लफडा भइरहेछ भन्ने पनि थाहा छ । कहिलेकाहीँ मेरो उपस्थितिमा उनीहरू हिरोइनको सुन्दरताको कुरा सुरु गर्छन् र कसको आँखा राम्रो, कसको ओठ राम्रो, कसको नाक राम्रो त कसको शरीर राम्रो भन्ने विषयमा तुलनात्मक विश्लेषणसमेत प्रस्तुत गर्न थाल्छन् । त्यतिवेला उनीहरूको अनुहारमा उत्ताउलोपन खाँदाखाँद देखिन थाल्छ ।
म यो छोटो लेख लेख्न बस्दा अहिले मेरा ती तमाम हिरोइनप्रेमी मित्रहरूलाई झल्झल्ती सम्झिरहेछु । उनीहरू आ-आफ्नो क्षेत्र र विषयका विज्ञ हुन्, प्रबुद्ध व्यक्तित्व हुन् । तर, जब नेपाली सिनेमाका हिरोइनहरूको प्रसंग चल्छ, उनीहरू आफ्नो विज्ञता बिर्सन्छन् र उनीहरू पूर्णतः प्लस टूमा पढ्ने टिनएजरजस्ता लाग्छन् ।

वास्तवमा यो मेरा मित्रहरूको दोष होइन । आजसम्म नेपाली सिनेमाले हिरोइनका रूपमा जुन छविलाई दर्शकसमक्ष प्रस्तुत गरेको छ, त्यसले आममान्छेमा मात्र होइन, प्रबुद्ध वर्गमा पार्ने प्रभाव पनि यही नै हो । नेपाली सिनेमाले हिरोइनका रूपमा कहिले पनि व्यक्तित्वलाई प्रस्तुत गर्न सकेको छैन, यसले त जहिले पनि नारीको शरीर पस्किएको छ, सुन्दरता पस्किएको छ । सालाखाला रूपमा नेपाली सिनेमाले कि त नारीको रूप निर्भर कमजोर र दयनीय छवि पेस गरेको छ, कि कामुक र बाइफाले चरित्र । नारीको यो एकांगी चरित्रबाहेक उसको अरू सशक्त र मर्यादित छवि निर्माणमा नेपाली सिनेमाले हालका मितिसम्म कुनै उत्साह देखाएको छैन ।

अहिले नेपाली समाजका हरेक वर्ग, तह र तप्काका व्यक्ति आफ्नो पहिचान खोजिरहेका छन् । त्यसका लागि मरिहत्ते गरिरहेका छन् । तर विडम्बना, नेपाली सिने जगतका नायिका भने आफ्नो प्रतिभाको पहिचान होइन, ब्युटिपार्लरमा सुन्दरता, बुटिकमा आफ्नो शरीरलाई अर्धनग्न देखाउन सकिने पोसाक खोजिरहेका छन् । उनीहरूको ध्यान आफ्नो सिर्जनात्मक कौशलको प्रस्तुतीकरणभन्दा बढी मालदार प्रेमीको खोजीमा केन्दि्रत छ । उनीहरूको ध्यान कलामा कम, धनी निर्माताकी कान्छीस्वास्नी वा रखौटी हुनमा बढी केन्दि्रत छ । यो विडम्बना हो र यसको सोझो असर नेपाली सिनेमाको स्तरमा समेत परिरहेको छ ।

नेपालका उनान्सय प्रतिशत नायिका आफूले अभिनय गर्न लागेको सिनेमाको स्त्रिप्ट पढ्दैनन् । उनलाई सिनेमामा आफ्नो भूमिकालाई कसरी प्रस्तुत गरिँदै छ भन्ने पनि थाहा हुँदैन । उनीहरूलाई त्यो सरोकारको विषय पनि होइन । उनीहरूको सरोकार हो, उनको नायकको हो, उनको भागमा कतिवटा नाचगाना परेको छ, उनले त्यसमा कस्तोखाले लुगा लगाउनुपर्छ । बस्, उनीहरूको सिर्जनात्मक सेरोफेरो यत्तिमै सीमित छ ।

एकजना चर्चित नायिका आफूभन्दा दोब्बर उमेरका निर्माताकी कान्छी श्रीमती भएकी छिन् । एउटा टेलिभिजन अन्तर्वार्तामा उनी सगौरव भन्छिन्, 'अचेल सबैले आफूभन्दा दोब्बर उमेरका लोग्नेमान्छे नै मन पराउँछन् ।' यसरी अचेलका सारा नारीको आफ्नोजस्तै मानसिकता छ भनेर उनले आफ्नो अधकल्चो सामाजिक विश्लेषण प्रस्तुत गरेर आफ्ना कमजोर 'कथनी' मार्फत आफ्नो 'करनी'को ढाकछोप गर्छिन् । यो नै अधिकांश नेपाली नायिकाको प्रवृत्ति हो । र, रमाइलो यही छ, नेपाली मिडियाले पनि उनीहरूको यही आचरण र प्रवृत्तिलाई महिमा मण्डित गरिरहेछ ।

नेपाली नायिकाहरू सिनेमामा 'अभिनय' गर्दैनन्, उनीहरू सिनेमा 'खेल्छन्' । तपाईं अन्तर्वार्ता लिनूस्, उनीहरू सगर्व जवाफ दिनेछन्- 'अहिले म फलानो फिलिममा खेल्दै छु ।' जबसम्म हाम्रा हिरोइन 'खेल्नु' र 'अभिनय गर्नु'को भिन्नतालाई बुझ्दैनन्, तबसम्म उनीहरूको छवि अभिनेत्री होइन, सुन्दरीको रूपमै कायम रहनेछ, त्यस्ती सुन्दरी जसको दिमाग 'टाउको'मा होइन, 'नाभी'को सेरोफेरोतिर हुन्छ ।



तर, सबै दोष नायिकालाई दिनु पनि उपयुक्त हुनेछैन । विश्व बजारीकरणको डरलाग्दो महामारी हाम्रो घर-आँगनसम्म पनि आइसकेको छ । यही महामारीका कारण हाम्रा सामाजिक मूल्यमा धमिरा लाग्दै छन् । पैसा नै सबथोक हो भन्ने मान्यता स्थापित हुँदै छ । बिल गेट्स र मुकेश अम्बानीहरू हाम्रा आराध्यदेव बन्न थालेका छन् । पैसा हुने बदनामहरू पनि सम्मानित हुन थालेका छन् । त्यसैले जसरी भए पनि पैसावाल हुनुपर्छ भन्ने मानसिकता नै अहिले आएर सामाजिक चिन्तनका रूपमा स्थापित हुँदै छ । गरिब भाइलाई दिदीबहिनी र निर्धन छोरोलाई आमाले पनि कम माया गर्न थालेका छन् । चरित्र, प्रतिभा र सीप सबै क्रमशः कमजोरहरूका एकालाप बन्न थालेका छन् । नेपाली समाजकै अधकल्चो मानसिकता झल्किने नेपाली सिनेमा उद्योगमा त्यसको प्रभाव नपर्ने त कुरै भएन । यस्तो स्थितिमा नेपाली नायिकाहरू हतार-हतार पैसा बटुल्न थाल्छन् । किनभने उनीहरूलाई थाहा छ, सुन्दरता सकिएको दिन उनीहरूको प्रयोजन पनि सिद्धिनेछ । उनीहरू मनोरञ्जनको रंगीन बजारमा बेकारको माल बन्नेछन् । बजार अर्थतन्त्रको यो कहालिलाग्दो प्रभावले नायिकाहरूलाई हरेक रात तर्साउँदैन होला पनि त भन्न सकिन्न ।

तर साहित्य, कला, सिनेमा यी यस्ता माध्यम हुन्, जसले यस्ता प्रभावबाट मुक्त हुन सक्ने हैसियत राख्छन् । नेपाली सिनेमा क्षेत्रमा त्यो हैसियत निर्माण नगरी नहुने वेला आइसकेको छ ।
त्यसैले नेपाली सिनेमा उद्योगले पनि बुझ्नुपर्छ, अब नेपाली नारीको परजीवीजस्तो छवि मात्र देखाएर पुग्दैन । नारी व्यक्तित्वका अरू आयाम छन् । अब ती आयामको पनि उद्घाटन हुनुपर्छ । अब नारीलाई विज्ञापनयोग्य वस्तुका रूपमा होइन, मौलिक, गरिमामय र संघर्षशील व्यक्तित्वका रूपमा प्रस्तुत गर्नुपर्छ । आजका दिनसम्म आइपुग्दा नेपाली नारीको सोच, हैसियत र क्षमतामा निकै परिवर्तन आइसकेको छ । नेपाली सिनेमामा पनि अब ती परिवर्तन दृष्टिगोचर हुनुपर्छ ।

तर सबैभन्दा बढी जिम्मेवारी त नायिकाहरूकै छ । अबका नायिका फरक सोचका साथ चलचित्र क्षेत्रमा आउनुपर्छ । उनीहरूले बुझ्नुपर्छ, अभिनय खेल होइन । यो त्यस्तो कलात्मक कर्म हो, जसले उनीहरूलाई समाजमा सम्मानित बनाउन सक्छ । उनीहरूले आफू मनोरञ्जनको पेसामा होइन, सिर्जनात्मक शिल्पमा लागेको ठान्नुपर्छ । जुनदिन उनीहरू सिर्जनाकर्मीका रूपमा स्थापित हुनेछन्, त्यसदिन मेरा मित्रहरू पनि गम्भीर हुनेछन् । उनीहरू सुन्दरता होइन, सिर्जनाको चर्चा गर्नर् थाल्नेछन् । उनीहरू हिरोइनको शरीर दर्शनका कारण ज्वरोले इन्तु न चिन्तु हुने छैनन्, बरु तिनको अभिनयकौशल देखेर सिल्भर स्त्रिनका अगाडि उभिनेछन् र सम्मानका साथ ताली बजाउनेछन् ।
नेपाली सिनेमाको स्वर्ण युगको सुरुवात त्यही दिनबाट हुनेछ ।मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

Wednesday, March 25, 2009

Dhan sampati Nepali flim

Dhan sampati Nepali flim

चौंसट्ठी वर्षेको एसएलसी

काठमाडौं, चैत ११ -
जन्म कुण्डलीअनुसार ६४ वर्ष टेकेका घनानन्द शर्मा घिमिरे एघारौं पटक एसएलसी दिँदैछन् । नागरिकतामा उनको उमेर ५८ वर्षको मात्र
छ । सेतै कपाल फुलिसकेका घिमिरे 'ज्योतिष सिद्धान्त शिरोमणि' उपाधिप्राप्त हुन् । उनलाई दक्षिण एसियाली ज्योतिष महासंघले उक्त उपाधि प्रदान गरेको हो ।
'ज्ञान प्राप्तिका निम्ति जुट्दैछु,' ललितपुर इकुडोल-९ का उनले भने, 'पास गरेरै छाड्छु । क्याम्पस धाउने रहर छ ।'
उनले इकुडोलस्थित विज्ञान प्रभा प्राविमा विज्ञान, स्वास्थ्य र शारीरिक विषय पढाउँदै आएका छन् । घिमिरे सरकारी विद्यालयको स्थायी शिक्षक हुन् । 'मैले ०२२ सालदेखि नै विभिन्न विद्यालयमा पढाउन थालेको हुँ,' उनले भने । पढाउन सुरु गरेको ८ वर्षपछि ०३० सालमा आएर उनी स्थायी शिक्षक बने ।
संस्कृतमा लघु कौमुदीदेखि चारै वेद पढेका यिनी 'ज्ञानको भोक मेट्न' एसएलसी दिन तम्सिएको बताउँछन् । 'ज्ञानको भण्डारलाई जहिल्यै सम्मान गनर्ुपर्छ, त्यसैले एसएलसी पास गर्न हत्ते हालिरहेको छु,' पटकपटक अनुत्तीर्ण भए पनि हत्तोसाही नभएको तर्क उनको थियो ।
घिमिरेले २०३४ सालमा पहिलो पटक एसएलसी दिएका थिए । त्यतिखेर नौ विषयमध्ये दुई सय पूणर्ांकको अंगे्रजी विषयमा उनी फेल भए । त्यसपछि बीचमा
दिँदै छाड्दै गरेँ । दुई वर्षदेखि
उनी प्राइभेट परीक्षार्थीका
रूपमा सहभागी छन् ।
गत वर्षको एसएलसीमा आठ विषयमध्ये अंंग्रेजी, गणित, विज्ञान र अर्थशास्त्र अनुत्तीर्ण थिए ।
'पहिले पारिवारिक झमेला थियो, अहिले चिना बनाउन र स्कुल धाउन व्यस्त हुँदा
एसएलसी उत्तीर्ण गर्न कठिन भइरहेको छ,' घिमिरेले भने ।
उनी यतिखेर साइँलो छोरा
आनन्द र बुहारीको कोठामा परीक्षाको तयारीमा जुटेका
छन् । 'बुवाले त्यति ध्यान दिनुभएजस्तो लागेको छैन,'
बुहारी सुशीलाले भनिन् । उनको कान्छो छोरासमेत स्नातक पढ्दैछन् ।

क्षयरोग दिवस:

चैत ११ -
बहुऔषधि प्रतिरोधी क्ष्ायरोग -एमडीआर) रोगीले सदरमुकाममै उपचार पाउन थालेका छन् । यसअघि रोगी लाखौं खर्चेर राजधानीसम्म जान बाध्य थिए ।
राजधानीमा मात्र यो सेवा सीमित रहेकाले जिल्लाका धेरै रोगी उपचारबाट वञ्चित थिए । एमडीआर सेवा मकवानपुर हेटौंडा अस्पताल र मनहरी प्राथमिक सेवा केन्द्रमा महिना दिनअघि सुरु भएको जनस्वास्थ्य क्षयकुष्ठ शाखा प्रमुख कपिलदेव झाले बताए । यहीँबाट १२/१४ रोगीले यो सेवा लिइसकेका छन् । रोगीहरू आर्थिक अभावले अहिलेसम्म उपचारविहीन थिए । केही महिनाअघिसम्म यो सेवा काठमाडौं, पोखरा, धनगढी र विराटनगरमा मात्रै पाइन्थ्यो । रोगीलाई सरकारले औषधि निःशुल्क दिएपनि खान र बस्ने व्यवस्था समस्याले रोग पालेर बसेको पीडितले बताए । लगातार दुई वर्षसम्म सम्बन्धित स्थानमै बसेर उपचार गराउनुपर्ने भएकाले यहाँका रोगी गरिबीका कारण कतै नगएर अकालमै ज्यान गुमाउन बाध्य थिए । सरकारले एमडीआर सेवा मध्यमाञ्चलको मकवानपुर, सर्लाही र धनुषामा सुरु गरेको छ । उपचार जिल्लामै गराए पनि रोगीले २ महिना लगातार औषधि सेवनपछि परीक्ष्ाणका लागि राजधानीस्थित क्ष्ायरोग केन्द्र जानुपर्ने बाध्यता भने अझै कायम छ । स्वास्थ्य परीक्ष्ाण गराउन जाँदा लाग्ने भाडा र खान बस्ने खर्च केन्द्रले सामान्य रकम उपलब्ध गराउने व्यवस्था गरेको छ ।
औषधि सेवनमा समस्या
सुर्खेत, ११ चैत -कास)- दैनिक औषधि सेवन गरे निको हुने क्षयरोग बिरामीले नियमित प्रयोग नगर्दा समस्या आएको छ । डट्स केन्द्र तथा सहायक केन्द्रमा औषधि सेवनका लागि नआउँदा उपचारमा गाह्रो भएको स्वास्थ्यकर्मीले बताए । विश्व क्षयरोग दिवसका अवसरमा मंगलबार वीरेन्द्रनगरमा क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्यले गरेको पत्रकार भेटमा स्वास्थ्यकर्मीले यस्तो जानकारी दिएका हुन् । क्षयरोग नियन्त्रणका लागि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने डट्स कार्यक्रमअन्तर्गत अहिले ८ महिनाको औषधि ६ महिना नियमित खुवाउने गरिएको बताएको थियो । ८ महिनासम्म खानुपर्ने भएकाले निरन्तरता टुट्ने हुँदा ६ महिनामै सक्ने गरेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका महेश पुरीले बताए ।

एमालेमा वरिष्ठ को ?खनालद्वारा नेपाललाई प्रस्ताव ओलीलाई पनि बनाउन पहल

काठमाडां, चैत ११ -
एमालेमा पूर्वमहासचिव माधवकुमार नेपाललाई 'वरिष्ठ नेता' बनाउने गृहकार्य सुरु भएको छ । अध्यक्षसहितको बहुपदीय व्यवस्था गरेको आठौं महाधिवेशनबाट पारित विधानमा 'वरिष्ठ नेता' को प्रावधान छ । चयन प्रक्रिया र जिम्मेवारीबारे विधानमा व्याख्या भइसकेको छैन ।
विधानको व्याख्या र कार्यान्वयन अधिकार केन्द्रीय कमिटीको हो । महाधिवेशनको एक महिनापछि केन्द्रको पहिलो बैठक बुधबार
बस्दैछ । अध्यक्ष झलनाथ खनालले पार्टीको प्रमुख जिम्मेवारीबाट बिदा भएका नेतालाई 'वरिष्ठ नेता' बनाउने प्रस्ताव गरेका छन् । 'पार्टी प्रमुखबाट बिदा भएकालाई सम्मानित स्थानमा राख्ने परिपाटी बसाउन खोजेका छौं,' खनालले
कान्तिपुरसँग भने । वरिष्ठलाई अध्यक्षपछिको मर्यादाक्रममा राख्ने उनको योजना छ । पद स्वीकार गर्ने/नगर्नेबारे नेपालले स्पष्ट
पारेका छैनन् ।
केही पदाधिकारीले भने नेपाल र ओली दुवैलाई वरिष्ठ नेता बनाउने अनौपचारिक प्रस्ताव गरेका छन् । अध्यक्ष पदका प्रत्यासी भएकाले ओलीलाई पनि वरिष्ठ नेताको सम्मान दिनु उपयुक्त हुने उनीहरूको धारणा छ । वरिष्ठ नेता एक वा बढी हुने भन्नेमा विधान मौन छ । 'यसको जे व्याख्या पनि हुन सक्छ,' एक केन्द्रीय सदस्यले भने ।
स्रोतका अनुसार नेपाल र ओलीले भने केन्द्रीय कमिटीको बैठकअघि महाधिवेशनबाट टुंग्याउन बाँकी रहेका विवादित विषयमा सहमति खोज्न खनाललाई आग्रह गरेका
छन् । विजयी घोषणा भएका केन्द्रीय सदस्यभन्दा बढी मत प्राप्त गरेको दाबी गर्दै निवर्तमान कार्यालय सचिव काशीनाथ अधिकारीले दिएको निवेदनबारे बैठकले निर्णय गर्नेछ । 'हामी छलफलकै क्रममा छौं,' खनालले भने, 'मानवीय र प्राविधिक त्रुटि भए सच्याउन सकिन्छ ।'
अधिकारीलाई विजयी घोषणा गरिएमा यसअघि आएकामध्ये एकले पद गुमाउने छन् । १ सय १५ सदस्यमध्ये राजेन्द्र श्रेष्ठले सबैभन्दा पछिल्लो मत पाएका थिए । अधिकारीले बढी मत पाएकाले उनलाई विजयी घोषित गर्नेमा शीर्ष नेताहरू सकारात्मक भए पनि त्यसको प्रक्रियाबारे अन्योल छ । उनले मनोनीत पद अस्वीकार गर्ने बताइसकेका छन् ।
खनालनिकट केही नेताले भने महाधिवेशन स्थलमा भएको घोषणाबारे पुनर्विचार गर्न नहुने धारणा राखेका छन् । पुनरावेदन सुन्ने निकाय केन्द्रीय कमिटी नभएको जिकिर गर्दै उनीहरूले मत परिणामको पुनर्याेग वा गणना गर्न नमिल्ने बताएका छन् ।
'पार्टीमा स्थायी निर्वाचन आयोग छैन,' केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले भने, 'केन्द्रीय कमिटी महाधिवेशन भन्दा ठूलो होइन ।' ओली पक्षले अनुशासन निरीक्षण आयोगबारे पनि असहमति जनाएको छ । महाधिवेशनमा प्रस्तावित विधानमा आयोगका सदस्यहरूले आफूमध्येबाट अध्यक्ष र सचिव चुन्ने प्रावधान
थियो । निर्वाचन आयोगले पूर्वस्थायी कमिटी सदस्य अमृत बोहरा अध्यक्षमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।
'उम्मेदवारी माग नभएको पदमा निर्विरोध निर्वाचित भएको घोषणालाई मान्न सकिँदैन,' ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, 'आयोगका निर्वाचित सदस्यहरूले आफूमध्येबाट चयन नगरी कसैलाई अध्यक्ष घोषणा गर्नु अवैध र अनैतिक छ ।' आयोगका अध्यक्ष पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था छ ।
नेता पाण्डेले भने पदाधिकारी चयन हलबाटै हुने व्यवस्था विधानमा भएको दाबी गरे । 'स्टेरिङ कमिटीले माइन्युट गरेको छ,' उनले भने, 'हलबाटै पदाधिकारी चयन हुने घोषणा भएपछि निर्वाचन आयोगले अनुशासन आयोगमा पनि सदस्य र अध्यक्ष पदमा दरखास्त आह्वान गरेको हो ।' आयोगको सचिव पद भने खाली नै छ ।
स्रोतका अनुसार अधिकारी प्रकरणको टुंगो नलगाई बैठक अघि बढ्न नदिने रणनीति लिने स्रोतको दाबी छ । महाधिवेशन स्थलमा भेटिएको बेवारिसे मतपेटिकाबारे भने अनुसन्धान टोली बनाउन नेताहरू सहमत भइसकेका छन् । मतगणनाको अन्तिम बेला बुटवलमा रहस्यमय मतपेटिका भेटिएको थियो ।
बुधबार बस्ने केन्द्रीय कमिटी पहिलो बैठकले नेताहरूको कार्यविभाजन गर्नेछ । स्थायी किमिटी, पोलिटब्युरोे र सचिवालयजस्ता केन्द्रीय संरचना बनाउने बैठकको कार्यसूचीमा छ । १ सय १५ केन्द्रीय सदस्यको एक तिहाइको -३९ सदस्यीय) पोलिटब्युरो गठन गर्नेमा नेताहरूबीच समान धारणा छ । स्थायी कमिटीको आकारबारे उनीहरूबीच एकमत छैन । संस्थापन पक्ष्ाले ठूलो आकारको स्थायी कमिटी बनाउने गृहकार्य गरेको छ । ओलीनिकट पदाधिकारीले भने यसको आकार सानो बनाउनु उपयुक्त हुने धारणा राखेका छन् । केन्द्रको एक तिहाइ पोलिटब्युरो भएपछि त्यसको पनि एक तिहाइको स्थायी
कमिटी उपयुक्त हुने उनीहरूको धारणा छ । 'पदाधिकारी, वरिष्ठ
नेता र अनुशासन आयोगका अध्यक्षलाई मात्र राखेर स्थायी कमिटी छरितो बनाउन सकिन्छ,' एक पदाधिकारीले भने ।
संस्थापन पक्षले भने 'सबैलाई चित्त बुझाउन' स्थायी कमिटीको आकार बढाउने गृहकार्य गरिरहेको उनले बताए । स्थायी कमिटीका आठ पूर्वसदस्य पदाधिकारी छैनन् । केन्द्रीय सदस्य निर्वाचनको मत परिणाम, अनुशासन आयोगको पदाधिकारी चयन र महाधिवेशन स्थलमा भेटिएको बेवारिसे मतपेटिकालगायत विवादित विषयमा नेताहरूबीच एकमत बन्न सकेको छैन ।

सरकार-सेना विवाद रक्षाको निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं, चैत ११ -
नेपाली सेनाका आठ सहायकरथीको म्याद नथप्ने रक्षा मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
पर्याप्त आधार र कारणबिना रक्षाले म्याद नथप्ने निर्णय गरेको जनाउँदै सर्वोच्चले त्यसको तत्काल कार्यान्वयन नगर्न मंगलबार अन्तरिम आदेश जारी गरेको हो । मुद्दामा अर्को आदेश नभएसम्म उनीहरूलाई यथास्थितिमै काम गर्न
सक्ने बाटो अदालतले खुला गरेको
हो । 'म्याद थप नगर्नुको कारण र आधार स्पष्ट खुलेको देखिएन,' न्यायाधीश
कल्याण श्रेष्ठको एकल इजलासले दिएको आदेशमा भनिएको छ, 'सुविधा र सन्तुलनको सिद्धान्तका हिसाबले समेत रक्षा मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्नू ।'
रक्षा मन्त्रालयले गत साता म्याद थप नगरी सहायकरथीहरू नरबहादुर
कँडेल, नरेन्द्रबहादुर रावल, कुमार बुढाथोकी, पवनबहादुर पाण्डे, प्रदीपविक्रम राणा, शिवकुमार पौडेल, रमेश विष्ट र राजुप्रताप केसीले अवकाश पाएका थिए । उनीहरूले आफूहरूमाथि अन्याय भएको जिकिरसहित सोमबार सर्वोच्चमा संयुक्त रिट दायर गरेका थिए ।
अदालतले म्याद थप नगर्नुको लिखित कारण पेस गर्नसमेत भनेको छ ।
लिखित जवाफ परेपछि यसमा थप सुनुवाइ हुनेछ । २०६१ चैत १० मा संशोधन भएको सैनिक नियमावली
२०२० र त्यसअनुसार बनेको नियम १८ -२) मा पदावधि थपसम्बन्धी व्यवस्था छ । 'त्यो नियम प्रारम्भ हुँदाका बखत बहाल रहेका सहायकरथीको हकमा पदावधि थप हुने विशेष व्यवस्था देखियो,' आदेशमा भनिएको छ । ती आठ सहायकरथीको २०६१ चैत ३ मा बढुवा भएको थियो । 'नियम १८ -२) बमोजिम उनीहरूको अवधि स्वतः थप हुने देखिन्छ,' आदेशमा छ ।
प्रधानसेनापति रुक्मांगद कटवालले २०६५ माघ १३ मा पदावधि थप गर्ने सिफारिस र अवकाश दिने रक्षा मन्त्रालयको पत्रबीच समन्वय नदेखिएको आदेशमा छ । 'रक्षाले पदावधि थप नहुने भनी पठाएको पत्रमा प.सं.क.प्र ०६४/६५ च. नं. २३६२ मिति ०६४/१२/६ उल्लेख भएको देखिएकाले प्रधानसेनापति र रक्षाको पत्रबीच समन्वय देखिएन,' आदेशमा भनिएको छ । यसअघि प्रदीपप्रताप बम मल्लको मुद्दामा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल हुने गरी रक्षा मन्त्रालयबाट पदावधि नथप्ने निर्णय भएको आदेशमा जनाइएको छ । सर्वोच्चले दुई वर्षअघि सैनिक अधिकृत मल्लको पदावधि थप्ने निर्णय गरेको थियो ।
रिट निवेदकका तर्फबाट अधिवक्ताहरू गणेशराज शर्मा, बद्रीबहादुर कार्की, सुशील पन्त, शम्भु थापा, भीमार्जुन आचार्य, बालकृष्ण न्यौपाने र पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रकुमार पाठकले बहस गरेका थिए । सहायकरथीहरू सेनाकै सवारीमा चढेर साँझ सात बजे सर्वोच्चबाट घरतिर लागेका थिए । उनीहरूको म्याद नथपेको विषयलाई लिएर अमेरिकी राजदूत न्यान्सी पावेलले सोमबार प्रधानमन्त्रीलाई भेटी चासो व्यक्त गरेकी थिइन् । रक्षाले म्याद थप नगर्ने संकेत पाएपछि प्रधानसेनापति कटवालले राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटी आफ्नो सिफारिस कार्यान्वयन गराउन पहल गरेका थिए ।

Monday, March 9, 2009

फागु पुर्णीमा र बिकृत प्रबृती

फागु पुर्णीमा अर्थात् होलीको नाममा राजधानीमा लोला हान्ने प्रवृत्तिले सबैभन्दा बढि युवतीहरू पीडित हुने विकृति यसपाली पनि कायमै छ । होली आउनुपूर्व नै होलीका नाममा लोला हान्ने विकृति बढेपछि कामकाज गर्न र पढन जाने किशोरी तथा युवतीहरू लोलाको मारमा पर्ने गरेका हुन् ।बालक,किशोर तथा युवाहरू यस्ता युवतीहरूलाई लोला हान्न धेरै उत्सुक देखिन्छन् । झ्याल, ढोका, छत तथा बाटोमा बसेर बाटोमा हिँड्ने युवती तथा किशोरीहरूलाई निथु्रक्क भिज्ने गरी लोला हानी रहेका दृष्य आजभोलि जताततै देखिन्छन् ।वर्षमा एकपटक आउने होलीलाई रमाईलोसँग मनाउन आफूहरूले लोला हान्ने गरेको बताउँदै कुलेश्वरका मीन थापाले भन्नुभयो,' युवतीलाई यसरी लोला हान्दा आफूलाई आनन्द आउँछ, तर लोलाले युवती भिज्दा भने नराम्रो लाग्छ ।'
विशेषगरी राजधानीका बसन्तपुर, बागबजार, पुतलीसडक, मैतीदेवी, न्यूरोड, जमल, चावहिल, बानेश्वर, कुलेश्वरलगायतका प्रमुख बजारमा लोलाको बिकृति बढेको छ ।यसका कारण धेरै युवती तथा किशोरीहरू कलेज, स्कुल, कार्यालय तथा गन्तव्य स्थलसम्म पुग्न सकेका छैनन् । पद्म कन्या क्याम्पसमा विए दोस्रो वर्षमा अध्ययनरत सृजना नेपाली विगत दुई दिन देखि क्याम्पस जान र घरबाहिर समेत निस्कन नसकेको बताउनुभयो ।
"बाहिर निस्कियो कि जताजतै लोला हान्न तम्सिन्छन् । जहाँ पायो त्यही हान्छन् । पोहोर साल त कानमा परेर कति दिन बिरामी परे "-सृजनाले गुनासो गर्नुभयो । लोला लागेर धेरै युवतीहरूमा शारीरिक मात्र होइन मानसिक असर समेत पर्ने गरेको पाइन्छ ।त्यसो त, कौसी र झ्यालमा बसेर बाटोमा हिडने पुरुषहरूलाई लोला हान्न, पानी छयापेर भिजाइदिन किशोरी र युवतीहरू पनि कम छैनन् । उमेरको उल्लास त ठिकै हो, तर उच्छृङखलताको परिणाम भने सुखद हुँदैन भन्ने यथार्थ किशोर-किशोरी, युवा-युवती सवैले मनन् गर्नु आवश्यक छ ।
सरकारले पनि लोला नहान्नु भन्ने सार्वजनिक सूचना जारी गरेपछि आफ्नो दायित्व पूरा भएको ठान्ने प्रवृत्ति छोड्नु पर्दछ ।उच्छृङ्खल कार्य गरी सँस्कृतिलाई विकृतिमा परिणत गर्न खोज्ने जोसुकैलाई कडा कारबाही गरी निरुत्साहित बनाउने इच्छाशक्ति र प्रभावकारी कार्यशैली सरकारले अपनाउनु अत्यन्तै आवश्यक छ।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

दस जिल्लामा जनसंख्या व्यवस्थापन कार्यक्रम

कास
संखुवासभा, फागुन २५ - २०६५
देशका १० जिल्लामा जनसंख्या व्यवस्थापन कार्यक्रम सुरु भएको छ । संखुवासभा, धनकुटा, मकवानपुर, रसुवा, सुर्खेत, डोटी, कैलाली, बर्दिया, लमजुङ र कास्कीमा स्थानीयस्तरमा कार्यक्रम लागू भएको हो । उक्त कार्यक्रम आइतबार संखुवासभाबाट सुरु गरिएको छ ।
कार्यक्रममा चालू आर्थिक वर्ष जिल्लास्तरमा प्रशिक्षक उत्पादन, जनसंख्या कार्ययोजना निर्माण र जिविस योजनामा समावेश, किशोरकिशोरी, अगुवा कार्यकर्ता, वृद्धवृद्धा हेरचाह परामर्श, बसाइँ सराइ सचेतनासमेत सञ्चालित हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख चिकित्सक श्यामसुन्दर मिश्रले बताए ।
जिल्ला तहमा आवश्यक अध्ययनपछि कार्ययोजना बन्ने र योजना केन्द्रले स्वीकृत गरेपछि निरन्तर चल्ने छ । यसले माथिबाट योजना दिने चलन हट्ने बताउँदै मिश्रले भने, 'नयाँ सोचका साथ ल्याएको कार्यक्रम हो, कार्यक्रममा प्रत्येक घरको जनसंख्या, तिनका आवश्यकता, तिनले प्रयोग गर्ने सेवा सुविधा समेटिने छन् ।' यसकै आधारमा योजना तय गर्दै कार्यान्वयन गरिने उनले बताए ।
जिल्लामा जनसंख्या प्रोफाइल बनेपछि त्यसैअनुरूप क्रियाकलाप सञ्चालन हुने जनसंख्याविज्ञ रवीन्द्र केसीले बताए । जनसंख्या शिक्षक, विद्यार्थी, सामाजिक कार्यकर्ता, गाविस सचिव र स्वास्थ्यकर्मीसमेत २५ जना प्रशिक्षक उत्पादन गर्ने र उनीहरू गाउँगाउँ पुगेर जनसंख्याका विविध पक्षको प्रशिक्षण दिनेछन् । चालू वर्ष २ लाख ४० हजार कार्यक्रममा खर्च गरिनेछ ।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

सरकार ढाल्न नेताहरू दिल्ली

कास
गोरखा, फागुन २५ - २०६५
माओवादी नेता एवं अर्थमन्त्री बाबुराम भट्टराईले केही दलका नेता सरकार ढाल्नका लागि पूर्वराजालाई साथ दिन भारत जान लागेको आरोप लगाएका छन् ।
अखिल नेपाल शिक्षक संगठनको पाँचौं साधारणसभाको आइतबार उद्घाटन गर्दै मन्त्री भट्टराईले केही दलका नेता राजाको कदमलाई सहयोग गर्न लागिपरेको बताए । उनले भने, 'सरकार ढाल्न र देशमा अन्य प्रकारकोे शक्ति भित्र्याउन संसदीय दलका नेताहरू दिल्ली भ्रमणमा निस्कने तयारीमा छन् ।'
उनले कुन-कुन नेता भारत जाँदै छन् भन्ने खुलाएनन् । 'शताब्दिऔंदेखि भ्रष्टाचार गरेर राज्य सञ्चालन गर्नेलाई यो सरकारप्रति रिस उठेको छ, अब तानाबाना बुन्न थाले' उनले भने, 'केही काम गर्न मात्र के थालेका थियौं देशी, विदेशी शक्ति लागेर सरकर गिराउने तयारी गर्दैछन् ।'
'साँच्चै विवाहको निम्तो मान्न गएको मान्छेले मन्त्री, राजनीतिक दलका नेता तथा सरकारका आधिकारिक मान्छेलाई किन भेट्नुपर्‍यो ?' मन्त्री भट्टराईले भने, 'ज्ञानेन्द्रले भारतसँग मैले गल्ती गरे पारसले राज्य सञ्चालन गर्न सक्दैन, नातिलाई राजा बनाइदेऊ आइन्दा गल्ती दोहोर्‍याउने छैन भन्दै हिँडेका छन् ।' षड्यन्त्रतर्फ सचेत रहन सबैलाई आग्रह गर्दै मन्त्री भट्टराईले सरकार गिराएमा देशमा ठूलो दुर्घटना निम्तने बताए ।

कोइराला-खनाल भेट ः मुलुक असफलतातिर’
काठमाडौं, २५ फागुन - कांग्रेस र एमालेका शीर्ष नेताहरूले मुलुकको बढ्दो राजनीतिक संकट र अराजकताप्रति चिन्ता व्यक्त गरेका छन् । कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमाले अध्यक्ष झलनाथ खनालबीच कोइराला निवास महाराजगन्जमा आइतबार भएको भेटमा सरकार र माओवादी क्रियाकलापबारे छलफल भएको हो । 'मुलुकको बढ्दो संकट' प्रति दुवै नेताले चिन्ता व्यक्त गरेको बैठक स्रोतले जनाएको छ । कोइरालाले 'माओवादी व्यवहारका कारण मुलुक असफल राष्ट्र हुन लागेको' मा चिन्ता व्यक्त गरेको स्रोतले बतायो । प्रमुख दलहरूबीचको समझदारी र एकतामा जोड दिँदै खनालले प्रतिपक्षमा बस्ने निर्णयमा पुनर्विचार गर्न कोइरालालाई आग्रह गरेका थिए । खनालको प्रस्तावलाई अस्वीकार गर्दै कोइरालाले माओवादी क्रियाकलापप्रति असन्तुष्टि जनाएका थिए ।
'उपचारका लागि' दिल्ली भ्रमणको तयारीमा रहेका कोइरालाले सत्तारूढ एक प्रमुख घटकका शीर्ष नेतासँग छलफल गरेका हुन् । खनालसँग कोइरालाले उपचारका लागि मात्र दिल्ली जाने बताएको स्रोतको दाबी
छ । भ्रमणबारे कांग्रेसले औपचारिक रूपमा केही बताएको छैन ।
गृहमन्त्री दिल्ली जाने
काठमाडौं, उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम उपचारका लागि सोमबार दिल्ली जाने भएका छन् । गालामा केही दिनयता भइरहेको 'सर्फ]{सयल प्यारालाइसिस' र कानको उपचारका लागि गौतम दिल्ली जान लागेका हुन् । उनको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गरिने भएको छ । केही दिनअघि एमालेको प्रभावशाली नेता केपी ओली पनि उपचारकै लागि दिल्ली गएका छन् भने नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला पनि उपचारका लागि दिल्ली जाने तयारीमा छन् ।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

आन्दोलनकारीका माग उपर आज निर्णय

सरोजराज अधिकारी
काठमाडौं, फागुन २५ -२०६५,
प्रधानमन्त्री पुष्पकमल दाहालले थारूलगायत आदिवासी, जनजातिले उठाएका जायज मागलाई सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । थारूहट संघर्ष समितिले भने आफ्ना मागलाई तत्काल सम्बोधन नगरे 'आदिवासी विद्रोह' को चेतावनी दिएको छ । एक सातादेखि संघर्षरत थारूलगायत आदिवासी, जनजातिका प्रतिनिधिहरूसित आइतबार दिउँसो भएको अनौपचारिक छलफलमा प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता जनाएको थरूहट स्वायत्त राज्यपरिषद्का अध्यक्ष लक्ष्मण थारूले बताए । 'छलफल सौहार्दपूर्ण रहे पनि प्रधानमन्त्रीको उधारो आश्वासनले पुग्दैन,' बैठकपछि कान्तिपुरसित थारूले भने, 'मागमा सम्बोधन नभएसम्म वार्तामा बस्दैनौं ।' थारू, आदिवासी र जनजातिलगायत विभिन्न १७ घटक सम्मिलित थरूहट संयुक्त संघर्ष समितिद्वारा आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आन्दोलनका अगुवाहरूले सोमबार बेलुकीसम्म माग सम्बोधन नभए 'आदिवासी विद्रोह' को चेतावनी दिएका हुन् । 'तराईका आदिवासीलाई मधेसीकरण गर्ने गरी भारत र भारतीय विस्तारवादको इसारामा ल्याइएको अध्यादेश तत्काल खारेज नभए आदिवासी विद्रोहको घोषणा हुनेछ,' लक्ष्मण थारूले भने । सार्वजनिक सेवामा समावेशीकरणका लागि मन्त्रिपरिषद्द्वारा जारी अध्यादेशमा थारू, आदिवासी, जनजाति, दलित र मुस्लिमलगायतलाई मधेसीको सूचीमा राखेको विरोधमा फागुन १८ देखि आन्दोलन जारी छ ।
राज्यसत्ताको सबै अंगमा जातीय संख्याका आधारमा प्रतिनिधित्वको संवैधानिक ग्यारेन्टी नभएसम्म
वार्ता क्रममा पनि आन्दोलन जारी राख्ने लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष उपेन्द्र गच्छदारले बताए । राष्ट्रिय आदिवासी जनजाति गणतान्त्रिक मोर्चाका अध्यक्ष कमल छाराहाङले अहिलेको मुद्दा थारूहरूको मात्र नभई मुलुकका सम्पूर्ण आदिवासीहरूको साझा सबाल भएको बताए । 'यो आन्दोलन राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षाका लागि पनि हो,' मोर्चाकै नेता किशोरकुमार विश्वासले भने । आन्दोलनमा मारिएका चितवनका कमल चौधरी र विपिन खड्कालाई सहिद घोषणा गर्नुपर्ने, परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, घाइतेको उपचार गर्नुपर्ने र हिरासतका आन्दोलनकारीलाई निःसर्त छाड्नुपर्ने संघर्ष समितिको माग छ । यसअघि प्रधानमन्त्री दाहालले शनिबार एक विज्ञप्ति जारी गरी आन्दोलनका क्रममाभएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित पक्षलाई उचित राहत, क्षतिपूर्ति तथा सम्मानको व्यवस्था गर्न सरकार तयार रहेको बताएका थिए । यसैबीच एमाले, नेकपा संयुक्त, राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय जनमोर्चालगायत दलले पनि आइतबार विज्ञप्ति जारी गर्दै थारू समुदायले आफ्नो पहिचान र अधिकार रक्षाका लागि चलाएको आन्दोलन जायज भएको बताउँदै तत्काल वार्ताद्वारा समस्या समाधान गर्न सरकारसमक्ष आग्रह गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य तथा सभासद उमाकान्त चौधरीद्वारा जारी विज्ञप्तिमा आदिवासी, जनजातिका रूपमा सदीयौंदेखि तराईमा बसोबास गर्दै आएका थारू समुदायको जबर्जस्ती पहिचान मेटाउन खोज्ने सरकारी निर्णय गैरजिम्मेवार भएको उल्लेख छ । 'थारूलगायत तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी र जनजातिहरूको अलग पहिचान तथा अधिकारको मागलाई हाम्रो पार्टी दृढतापूर्वक समर्थन गर्छ,' एमाले महासचिव ईश्वर पोखरेलद्वारा जारी विज्ञप्तिमा छ । नेपाल मुस्लिम इत्तेहाद संगठनका महासचिव ताज मोहम्मद मियाले एक विज्ञप्ति जारी गरी आन्दोलनप्रति आफ्नो ऐक्यबद्धता जनाएका छन् । संघर्ष समितिले सोमबार राजधानीको माइतीघरबाट सुरु हुने र्‍यालीमा थारू कल्याणकारी सभालगायतका आन्दोलनकारी अन्य घटकको पनि सहभागिता रहने जनाएको छ ।

आयोगद्वारा अनुसन्धान सुरु
काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले चितवन घटनालगायत तराई क्षेत्रमा थारू आन्दोलनबारे अनुसन्धान सुरु गरेको छ । चितवनमा दुई प्रदर्शनकारी र प्रहरीको शुक्रबार भएको मृत्युप्रति चिन्ता व्यक्त गर्दै आयोगद्वारा आइतबार जारी विज्ञप्तिमा चितवन, बारा, पर्सा, रौतहट र सर्लाहीका बन्द, हडताल र झडपबारे अनुसन्धान गर्न त्यसतर्फ टोलीहरू खटाइएको उल्लेख छ ।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्