
मेरा एकजना मित्र मलाई भेट्नासाथ सिनेमाको कुरा गर्न थाल्छन् र अनि रोमान्टिक भाव-भंगीमाका साथ भन्छन्, 'फलानी हिरोइनलाई पाए त म आजै कान्छीस्वास्नी बनाउँथे ।' त्यस्तै, मेरा अर्का एकजना लेखक मित्र पनि वेला-वेलामा लगभग त्यस्तै भावमा भन्छन्, 'मेरो त...सित वानसाइटेड लभ नै परिसक्यो । राति-राति सपनामा उसैसँग डेटिङमा जान्छु । तपाईंले उनलाई भेट्नुभयो भने म उनको फ्यान हुँ भनेर भनिदिनूस् है !'
मैले वेला-बखतमा यस्ता स्थिति भोगिरहनुपरेको छ । मेरा धेरै यस्ता मित्र छन्, जो नेपाली हिरोइनका बारेमा चाहिनेभन्दा बढी जानकारी राख्छन् । उनीहरूलाई बिपना थापाको बिहे कोसित भयो भन्ने थाहा छ । उनलाई हालसालै कुनचाहिँ हिरोइनले आफ्नो श्रीमान्सित छोडपत्र गरी भन्ने पनि थाहा छ । उनलाई कसको कोसित चक्कर चलिरहेछ र कोसित कसको के लफडा भइरहेछ भन्ने पनि थाहा छ । कहिलेकाहीँ मेरो उपस्थितिमा उनीहरू हिरोइनको सुन्दरताको कुरा सुरु गर्छन् र कसको आँखा राम्रो, कसको ओठ राम्रो, कसको नाक राम्रो त कसको शरीर राम्रो भन्ने विषयमा तुलनात्मक विश्लेषणसमेत प्रस्तुत गर्न थाल्छन् । त्यतिवेला उनीहरूको अनुहारमा उत्ताउलोपन खाँदाखाँद देखिन थाल्छ ।
म यो छोटो लेख लेख्न बस्दा अहिले मेरा ती तमाम हिरोइनप्रेमी मित्रहरूलाई झल्झल्ती सम्झिरहेछु । उनीहरू आ-आफ्नो क्षेत्र र विषयका विज्ञ हुन्, प्रबुद्ध व्यक्तित्व हुन् । तर, जब नेपाली सिनेमाका हिरोइनहरूको प्रसंग चल्छ, उनीहरू आफ्नो विज्ञता बिर्सन्छन् र उनीहरू पूर्णतः प्लस टूमा पढ्ने टिनएजरजस्ता लाग्छन् ।
वास्तवमा यो मेरा मित्रहरूको दोष होइन । आजसम्म नेपाली सिनेमाले हिरोइनका रूपमा जुन छविलाई दर्शकसमक्ष प्रस्तुत गरेको छ, त्यसले आममान्छेमा मात्र होइन, प्रबुद्ध वर्गमा पार्ने प्रभाव पनि यही नै हो । नेपाली सिनेमाले हिरोइनका रूपमा कहिले पनि व्यक्तित्वलाई प्रस्तुत गर्न सकेको छैन, यसले त जहिले पनि नारीको शरीर पस्किएको छ, सुन्दरता पस्किएको छ । सालाखाला रूपमा नेपाली सिनेमाले कि त नारीको रूप निर्भर कमजोर र दयनीय छवि पेस गरेको छ, कि कामुक र बाइफाले चरित्र । नारीको यो एकांगी चरित्रबाहेक उसको अरू सशक्त र मर्यादित छवि निर्माणमा नेपाली सिनेमाले हालका मितिसम्म कुनै उत्साह देखाएको छैन ।
अहिले नेपाली समाजका हरेक वर्ग, तह र तप्काका व्यक्ति आफ्नो पहिचान खोजिरहेका छन् । त्यसका लागि मरिहत्ते गरिरहेका छन् । तर विडम्बना, नेपाली सिने जगतका नायिका भने आफ्नो प्रतिभाको पहिचान होइन, ब्युटिपार्लरमा सुन्दरता, बुटिकमा आफ्नो शरीरलाई अर्धनग्न देखाउन सकिने पोसाक खोजिरहेका छन् । उनीहरूको ध्यान आफ्नो सिर्जनात्मक कौशलको प्रस्तुतीकरणभन्दा बढी मालदार प्रेमीको खोजीमा केन्दि्रत छ । उनीहरूको ध्यान कलामा कम, धनी निर्माताकी कान्छीस्वास्नी वा रखौटी हुनमा बढी केन्दि्रत छ । यो विडम्बना हो र यसको सोझो असर नेपाली सिनेमाको स्तरमा समेत परिरहेको छ ।
नेपालका उनान्सय प्रतिशत नायिका आफूले अभिनय गर्न लागेको सिनेमाको स्त्रिप्ट पढ्दैनन् । उनलाई सिनेमामा आफ्नो भूमिकालाई कसरी प्रस्तुत गरिँदै छ भन्ने पनि थाहा हुँदैन । उनीहरूलाई त्यो सरोकारको विषय पनि होइन । उनीहरूको सरोकार हो, उनको नायकको हो, उनको भागमा कतिवटा नाचगाना परेको छ, उनले त्यसमा कस्तोखाले लुगा लगाउनुपर्छ । बस्, उनीहरूको सिर्जनात्मक सेरोफेरो यत्तिमै सीमित छ ।
एकजना चर्चित नायिका आफूभन्दा दोब्बर उमेरका निर्माताकी कान्छी श्रीमती भएकी छिन् । एउटा टेलिभिजन अन्तर्वार्तामा उनी सगौरव भन्छिन्, 'अचेल सबैले आफूभन्दा दोब्बर उमेरका लोग्नेमान्छे नै मन पराउँछन् ।' यसरी अचेलका सारा नारीको आफ्नोजस्तै मानसिकता छ भनेर उनले आफ्नो अधकल्चो सामाजिक विश्लेषण प्रस्तुत गरेर आफ्ना कमजोर 'कथनी' मार्फत आफ्नो 'करनी'को ढाकछोप गर्छिन् । यो नै अधिकांश नेपाली नायिकाको प्रवृत्ति हो । र, रमाइलो यही छ, नेपाली मिडियाले पनि उनीहरूको यही आचरण र प्रवृत्तिलाई महिमा मण्डित गरिरहेछ ।
नेपाली नायिकाहरू सिनेमामा 'अभिनय' गर्दैनन्, उनीहरू सिनेमा 'खेल्छन्' । तपाईं अन्तर्वार्ता लिनूस्, उनीहरू सगर्व जवाफ दिनेछन्- 'अहिले म फलानो फिलिममा खेल्दै छु ।' जबसम्म हाम्रा हिरोइन 'खेल्नु' र 'अभिनय गर्नु'को भिन्नतालाई बुझ्दैनन्, तबसम्म उनीहरूको छवि अभिनेत्री होइन, सुन्दरीको रूपमै कायम रहनेछ, त्यस्ती सुन्दरी जसको दिमाग 'टाउको'मा होइन, 'नाभी'को सेरोफेरोतिर हुन्छ ।
तर, सबै दोष नायिकालाई दिनु पनि उपयुक्त हुनेछैन । विश्व बजारीकरणको डरलाग्दो महामारी हाम्रो घर-आँगनसम्म पनि आइसकेको छ । यही महामारीका कारण हाम्रा सामाजिक मूल्यमा धमिरा लाग्दै छन् । पैसा नै सबथोक हो भन्ने मान्यता स्थापित हुँदै छ । बिल गेट्स र मुकेश अम्बानीहरू हाम्रा आराध्यदेव बन्न थालेका छन् । पैसा हुने बदनामहरू पनि सम्मानित हुन थालेका छन् । त्यसैले जसरी भए पनि पैसावाल हुनुपर्छ भन्ने मानसिकता नै अहिले आएर सामाजिक चिन्तनका रूपमा स्थापित हुँदै छ । गरिब भाइलाई दिदीबहिनी र निर्धन छोरोलाई आमाले पनि कम माया गर्न थालेका छन् । चरित्र, प्रतिभा र सीप सबै क्रमशः कमजोरहरूका एकालाप बन्न थालेका छन् । नेपाली समाजकै अधकल्चो मानसिकता झल्किने नेपाली सिनेमा उद्योगमा त्यसको प्रभाव नपर्ने त कुरै भएन । यस्तो स्थितिमा नेपाली नायिकाहरू हतार-हतार पैसा बटुल्न थाल्छन् । किनभने उनीहरूलाई थाहा छ, सुन्दरता सकिएको दिन उनीहरूको प्रयोजन पनि सिद्धिनेछ । उनीहरू मनोरञ्जनको रंगीन बजारमा बेकारको माल बन्नेछन् । बजार अर्थतन्त्रको यो कहालिलाग्दो प्रभावले नायिकाहरूलाई हरेक रात तर्साउँदैन होला पनि त भन्न सकिन्न ।
तर साहित्य, कला, सिनेमा यी यस्ता माध्यम हुन्, जसले यस्ता प्रभावबाट मुक्त हुन सक्ने हैसियत राख्छन् । नेपाली सिनेमा क्षेत्रमा त्यो हैसियत निर्माण नगरी नहुने वेला आइसकेको छ ।
त्यसैले नेपाली सिनेमा उद्योगले पनि बुझ्नुपर्छ, अब नेपाली नारीको परजीवीजस्तो छवि मात्र देखाएर पुग्दैन । नारी व्यक्तित्वका अरू आयाम छन् । अब ती आयामको पनि उद्घाटन हुनुपर्छ । अब नारीलाई विज्ञापनयोग्य वस्तुका रूपमा होइन, मौलिक, गरिमामय र संघर्षशील व्यक्तित्वका रूपमा प्रस्तुत गर्नुपर्छ । आजका दिनसम्म आइपुग्दा नेपाली नारीको सोच, हैसियत र क्षमतामा निकै परिवर्तन आइसकेको छ । नेपाली सिनेमामा पनि अब ती परिवर्तन दृष्टिगोचर हुनुपर्छ ।
तर सबैभन्दा बढी जिम्मेवारी त नायिकाहरूकै छ । अबका नायिका फरक सोचका साथ चलचित्र क्षेत्रमा आउनुपर्छ । उनीहरूले बुझ्नुपर्छ, अभिनय खेल होइन । यो त्यस्तो कलात्मक कर्म हो, जसले उनीहरूलाई समाजमा सम्मानित बनाउन सक्छ । उनीहरूले आफू मनोरञ्जनको पेसामा होइन, सिर्जनात्मक शिल्पमा लागेको ठान्नुपर्छ । जुनदिन उनीहरू सिर्जनाकर्मीका रूपमा स्थापित हुनेछन्, त्यसदिन मेरा मित्रहरू पनि गम्भीर हुनेछन् । उनीहरू सुन्दरता होइन, सिर्जनाको चर्चा गर्नर् थाल्नेछन् । उनीहरू हिरोइनको शरीर दर्शनका कारण ज्वरोले इन्तु न चिन्तु हुने छैनन्, बरु तिनको अभिनयकौशल देखेर सिल्भर स्त्रिनका अगाडि उभिनेछन् र सम्मानका साथ ताली बजाउनेछन् ।
नेपाली सिनेमाको स्वर्ण युगको सुरुवात त्यही दिनबाट हुनेछ ।मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
