Monday, March 9, 2009

सरकार ढाल्न नेताहरू दिल्ली

कास
गोरखा, फागुन २५ - २०६५
माओवादी नेता एवं अर्थमन्त्री बाबुराम भट्टराईले केही दलका नेता सरकार ढाल्नका लागि पूर्वराजालाई साथ दिन भारत जान लागेको आरोप लगाएका छन् ।
अखिल नेपाल शिक्षक संगठनको पाँचौं साधारणसभाको आइतबार उद्घाटन गर्दै मन्त्री भट्टराईले केही दलका नेता राजाको कदमलाई सहयोग गर्न लागिपरेको बताए । उनले भने, 'सरकार ढाल्न र देशमा अन्य प्रकारकोे शक्ति भित्र्याउन संसदीय दलका नेताहरू दिल्ली भ्रमणमा निस्कने तयारीमा छन् ।'
उनले कुन-कुन नेता भारत जाँदै छन् भन्ने खुलाएनन् । 'शताब्दिऔंदेखि भ्रष्टाचार गरेर राज्य सञ्चालन गर्नेलाई यो सरकारप्रति रिस उठेको छ, अब तानाबाना बुन्न थाले' उनले भने, 'केही काम गर्न मात्र के थालेका थियौं देशी, विदेशी शक्ति लागेर सरकर गिराउने तयारी गर्दैछन् ।'
'साँच्चै विवाहको निम्तो मान्न गएको मान्छेले मन्त्री, राजनीतिक दलका नेता तथा सरकारका आधिकारिक मान्छेलाई किन भेट्नुपर्‍यो ?' मन्त्री भट्टराईले भने, 'ज्ञानेन्द्रले भारतसँग मैले गल्ती गरे पारसले राज्य सञ्चालन गर्न सक्दैन, नातिलाई राजा बनाइदेऊ आइन्दा गल्ती दोहोर्‍याउने छैन भन्दै हिँडेका छन् ।' षड्यन्त्रतर्फ सचेत रहन सबैलाई आग्रह गर्दै मन्त्री भट्टराईले सरकार गिराएमा देशमा ठूलो दुर्घटना निम्तने बताए ।

कोइराला-खनाल भेट ः मुलुक असफलतातिर’
काठमाडौं, २५ फागुन - कांग्रेस र एमालेका शीर्ष नेताहरूले मुलुकको बढ्दो राजनीतिक संकट र अराजकताप्रति चिन्ता व्यक्त गरेका छन् । कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमाले अध्यक्ष झलनाथ खनालबीच कोइराला निवास महाराजगन्जमा आइतबार भएको भेटमा सरकार र माओवादी क्रियाकलापबारे छलफल भएको हो । 'मुलुकको बढ्दो संकट' प्रति दुवै नेताले चिन्ता व्यक्त गरेको बैठक स्रोतले जनाएको छ । कोइरालाले 'माओवादी व्यवहारका कारण मुलुक असफल राष्ट्र हुन लागेको' मा चिन्ता व्यक्त गरेको स्रोतले बतायो । प्रमुख दलहरूबीचको समझदारी र एकतामा जोड दिँदै खनालले प्रतिपक्षमा बस्ने निर्णयमा पुनर्विचार गर्न कोइरालालाई आग्रह गरेका थिए । खनालको प्रस्तावलाई अस्वीकार गर्दै कोइरालाले माओवादी क्रियाकलापप्रति असन्तुष्टि जनाएका थिए ।
'उपचारका लागि' दिल्ली भ्रमणको तयारीमा रहेका कोइरालाले सत्तारूढ एक प्रमुख घटकका शीर्ष नेतासँग छलफल गरेका हुन् । खनालसँग कोइरालाले उपचारका लागि मात्र दिल्ली जाने बताएको स्रोतको दाबी
छ । भ्रमणबारे कांग्रेसले औपचारिक रूपमा केही बताएको छैन ।
गृहमन्त्री दिल्ली जाने
काठमाडौं, उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम उपचारका लागि सोमबार दिल्ली जाने भएका छन् । गालामा केही दिनयता भइरहेको 'सर्फ]{सयल प्यारालाइसिस' र कानको उपचारका लागि गौतम दिल्ली जान लागेका हुन् । उनको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गरिने भएको छ । केही दिनअघि एमालेको प्रभावशाली नेता केपी ओली पनि उपचारकै लागि दिल्ली गएका छन् भने नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला पनि उपचारका लागि दिल्ली जाने तयारीमा छन् ।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

No comments:

Post a Comment