फागु पुर्णीमा अर्थात् होलीको नाममा राजधानीमा लोला हान्ने प्रवृत्तिले सबैभन्दा बढि युवतीहरू पीडित हुने विकृति यसपाली पनि कायमै छ । होली आउनुपूर्व नै होलीका नाममा लोला हान्ने विकृति बढेपछि कामकाज गर्न र पढन जाने किशोरी तथा युवतीहरू लोलाको मारमा पर्ने गरेका हुन् ।बालक,किशोर तथा युवाहरू यस्ता युवतीहरूलाई लोला हान्न धेरै उत्सुक देखिन्छन् । झ्याल, ढोका, छत तथा बाटोमा बसेर बाटोमा हिँड्ने युवती तथा किशोरीहरूलाई निथु्रक्क भिज्ने गरी लोला हानी रहेका दृष्य आजभोलि जताततै देखिन्छन् ।वर्षमा एकपटक आउने होलीलाई रमाईलोसँग मनाउन आफूहरूले लोला हान्ने गरेको बताउँदै कुलेश्वरका मीन थापाले भन्नुभयो,' युवतीलाई यसरी लोला हान्दा आफूलाई आनन्द आउँछ, तर लोलाले युवती भिज्दा भने नराम्रो लाग्छ ।'
विशेषगरी राजधानीका बसन्तपुर, बागबजार, पुतलीसडक, मैतीदेवी, न्यूरोड, जमल, चावहिल, बानेश्वर, कुलेश्वरलगायतका प्रमुख बजारमा लोलाको बिकृति बढेको छ ।यसका कारण धेरै युवती तथा किशोरीहरू कलेज, स्कुल, कार्यालय तथा गन्तव्य स्थलसम्म पुग्न सकेका छैनन् । पद्म कन्या क्याम्पसमा विए दोस्रो वर्षमा अध्ययनरत सृजना नेपाली विगत दुई दिन देखि क्याम्पस जान र घरबाहिर समेत निस्कन नसकेको बताउनुभयो ।
"बाहिर निस्कियो कि जताजतै लोला हान्न तम्सिन्छन् । जहाँ पायो त्यही हान्छन् । पोहोर साल त कानमा परेर कति दिन बिरामी परे "-सृजनाले गुनासो गर्नुभयो । लोला लागेर धेरै युवतीहरूमा शारीरिक मात्र होइन मानसिक असर समेत पर्ने गरेको पाइन्छ ।त्यसो त, कौसी र झ्यालमा बसेर बाटोमा हिडने पुरुषहरूलाई लोला हान्न, पानी छयापेर भिजाइदिन किशोरी र युवतीहरू पनि कम छैनन् । उमेरको उल्लास त ठिकै हो, तर उच्छृङखलताको परिणाम भने सुखद हुँदैन भन्ने यथार्थ किशोर-किशोरी, युवा-युवती सवैले मनन् गर्नु आवश्यक छ ।
सरकारले पनि लोला नहान्नु भन्ने सार्वजनिक सूचना जारी गरेपछि आफ्नो दायित्व पूरा भएको ठान्ने प्रवृत्ति छोड्नु पर्दछ ।उच्छृङ्खल कार्य गरी सँस्कृतिलाई विकृतिमा परिणत गर्न खोज्ने जोसुकैलाई कडा कारबाही गरी निरुत्साहित बनाउने इच्छाशक्ति र प्रभावकारी कार्यशैली सरकारले अपनाउनु अत्यन्तै आवश्यक छ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment